गकेर्णेश्वरका अधिकांस निजी विद्यालयले बुझाएनन छात्रावृत्ति विवरण ,पत्र काट्ने तयारी
- जेष्ठ ३२, २०८२ मा प्रकाशित

काठमाडौं – गकेर्णेश्वर नगरपालिकामा संचालित अधिकांस निजी विद्यालयले छात्रावृत्ति विवरण नबुझाएको पाइएको छ । शैक्षिक सत्र सुरु भएको तीन महिना हुँदा सम्म पनि थुप्रै संस्थागत विद्यालयले छात्रावृत्ति विवरण बुझाउन अटेर गरिरहेको पाइएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर ओरालो लागेपछि पछिल्लो समय निजी विद्यालयमा छोराछोरीलाई पढाउनेहरूको सख्यामा बढोत्तरी भइरहेको छ । निजी विद्यालयले गरिब, दलित र जेहेनदार विद्यार्थीहरूलाई नियमानुसार कुल विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीहरूलाई निःशुल्क पढाउनुपर्ने सरकारी नीति अभ्यासमा रहेको छ। तर गकेर्णेश्वर नगरपालिकामा संचालित अधिकांस निजी विद्यालयले सरकारी नीतिको धज्जी उडाइरहेका छन् भने १० प्रतिशत छात्रावृत्ति विवरण बुझाउन अटेर गरिरहेका छन् ।
सरकारको नीतिगत व्यवस्थामा संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ को परिच्छेद ६ (१) मा कक्षाको पहिलो विद्यार्थीलाई शतप्रतिशत र दोस्रो विद्यार्थीलाई ५० प्रतिशत शुल्क मिनाह गरी जेहेनदार छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्थाछ । त्यस्तै परिच्छेदको ६ (२) मा संस्थागत विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघटाई जेहेनदार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने उल्लेख छ।
विद्यालयले छात्रवृत्ति पाउने विद्योर्थीहरूको नामावली शैक्षिक सत्र सुरु भएको दोस्रो महिनाको मसान्तभित्रमा नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा पेस गर्नुका साथै अभिभावक तथा विद्यार्थीको जानकारीका लागि विद्यालयको सूचना पाटीमा टाँस गरिएको हुनुपर्ने व्यवस्था गरिएको छ।
नगरपालिकाको विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिले छात्रवृत्ति वितरण भए नभएको अनुगमन गर्ने र तोकिएअनुसार छात्रवृत्ति वितरण नगर्ने विद्यालयलाई नियमानुसारको कारबाही गर्नुका साथै सरकारी तवरबाट उपलब्ध हुने सेवा सुविधा र सहुलियतबाट वञ्चित गरिने उल्लेख छ ।
गोकर्णेश्वर नगरपालिकामा संचालित निजी विद्यालयले शुल्क विवरण समेत बुझाउन अटेर गरिरहेको पाइएको छ । हरेक शैक्षिक सत्रसँगै विद्यालयले सम्बन्धित कार्यालयमा शुल्क विवरण बुझाउनपर्नेमा अधिकांश संस्थागत विद्यालयले विवरण बुझाउन अटेर गरिरहेका छन् । विद्यालयले शुल्क विवरण भने अनिवार्य बुझाउनपर्छ । तर,शैक्षिक सत्र सुरु भएको तीन महिना हुँदासम्म पनि विवरण बुझाउन विद्यालय अटेर गरिरहेका छन् ।
गोकर्णेश्वरका ४० संस्थागत विद्यालयले शुल्क विवरण नबुझाएको पाइएको छ । गोकर्णेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख वीर बहादुर खड्काले शुल्क विवरण र छात्रावृत्ति विवरण नबुझाउने विद्यालयलाई अन्तिम पत्र काट्ने तयारी गरिएको बताएका छन् ।
Comments