१६ खेलमा खेलाडी छनोट हुने

  • झरना खबर
  • २०७९ भाद्र ७ गते १६:४३ बजे प्रकाशित

काठमाडौं : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पाँचथरबाट १६ खेलमा खेलाडी छनोट हुने भएका छन् । जिल्ला खेलकुद विकास समिति पाँचथरका अनुसार प्रदेश नं १ प्रदेश खेलकुद विकास बोर्डले पाँचथरलाई विभिन्न १६ खेलमा खेलाडी छनोट गर्ने कोटा निर्धारण गरेको छ ।

भदौ १ गतेबाट खेलाडी छनोट सुरु भएको हो । जिल्लामा छनोट भएका खेलाडी प्रदेश खेलकुद प्रतियोगितामा सहभागी हुने र प्रदेश खेलकुद प्रतियोगिताबाट छनोट भएपछि नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन पाउँछन् । जिल्लाबाट फुटबल, भलिबल, ब्याडमिन्टन, तेक्वान्दो, कराँते, बक्सिङ, टेवलटेनिस, कबड्डी, उसु, वुद्धिचाल, कुस्ती, एथलेटिक्स, फुलकन्ट्र्याक्ट कराँते, जुडो र आइटीएफ तेक्वान्दोका खेलाडी छनोट हुन लागेको जिल्ला खेलकुद विकास समिति पाँचथरले जनाएको छ ।

छनोट कार्य यही भदौ ९ गतेभित्र सम्पन्न गर्ने तयारी गरिएको जिल्ला खेलकुद विकास समिति पाँचथरका कार्यालय प्रमुख दुस्यन्त बस्नेतले जानकारी दिए । खेलमैदान तथा अन्य संरचनाको अभावले खेलाडी छनोटको कार्य यस पटक सदरमुकामभन्दा बाहिर समेत भइरहेको छ ।
अधिकांश खेलको छनोट सुरु भएको बस्नेतले जानकारी दिए । जिल्लाबाट छनोट हुने खेलाडीको सङ्ख्या यकिन हुन बाँकी रहेको, तर प्रशिक्षकले आवश्यकभन्दा बढी खेलाडी योग्यताक्रम अनुसार छनोट गर्ने उनले बताए ।

सम्बन्धित समाचारहरू

Comments