माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका चार नेताको दलिल- ' हामी माओवादीकै सांसद हौँ '

  • झरना खबर
  • २०७८ श्रावण १३ गते १६:०९ बजे प्रकाशित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) परित्याग गरेर एमाले प्रवेश गरेका चार नेताहरूले सांसद पदबाट हटाउनु गैरसंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका छन्।

माओवादी छोडेर एमाले प्रवेश गरेका टोपबहादुर रायमाझीसहितका नेताहरूले आज अदालत पुगेर रिट दायर गरेका सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। 

‘पूर्वमाओवादीका संघीय संसदबाट पदमुक्त भएका ४ सांसदले आज सर्वोच्चमा रिट दायर गर्नुभएको छ,’ दाहालले  भने, ‘केन्द्रीय कमिटीबाट निर्णय नगरी अध्यक्षको एकल निर्णयका आधारमा पदमुक्त गर्ने निर्णयमा निर्वाचन आयोगले सदर गर्नु गैरसंवैधानिक छ भन्ने व्यहोरा रिटमा उल्लेख छ।’

सांसद पदमुक्त गर्ने सिफारिसलाई निर्वाचन आयोगले छानबिन नगरी सिधै हटाइदिएको कुरा स्वीकार गर्न नसकिने रिटमा उल्लेख गरिएको छ। 

‘सांसद निष्कासन गर्ने सिफारिसलाई निर्वाचन आयोगले छानबिन नै नगरी पदमुक्त गर्नु गैरसंवैधानिक कदम हो,’ रिट उल्लेख गर्दै दाहालले भने।  

कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित लेखराज भट्ट, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, रौतहट ३ बाट निर्वाचित प्रभु साह र कैलाली ३ बाट निर्वाचित गौरीशंकर चौधरीलाई माओवादी केन्द्रले चैत २४ गते पदमुक्त गरेको थियो। चैत २६ गते सभामुख अग्निप्रसाद सापकोटाले उनीहरू पदमुक्त भएको जानकारी प्रतिनिधिसभाको बैठकमा गराएका थिए।

माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न भई सो दलको केन्द्रीय सदस्य पद स्वीकार गरी दल त्याग गरेको देखिएकोले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) गरिदिन भनेर दल त्यागको सूचना संसद सचिवालयमा दिएका थिए। 

पदमुक्त भएका चारै सांसद तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा मन्त्री थिए। फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र एकता भई बनेको नेकपा भंग गरेर पूर्ववत अवस्थामा फर्काए पनि उनीहरू एमाले प्रवेश गरेका थिए। सोही आधारमा दल त्याग गरेको भन्दै माओवादी केन्द्रले कारवाही गरेको हो।

सम्बन्धित समाचारहरू

Comments