जसपा ठाकुर-यादव पक्ष सरकारमा जान तयार

  • झरना खबर
  • २०७८ श्रावण ७ गते १०:१३ बजे प्रकाशित

काठमाण्डौं : जनता समाजवादी पार्टी ९जसपा० को महन्थ ठाकुर पक्ष पनि सरकारमा जान तयार देखिएको छ। मन्त्रालय बाँडफाँटको विषयमा सत्तारूढ गठबन्धनसँग छलफल हुन भने बाँकी रहेको ठाकुर पक्षका नेताहरूले बताएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवासँग जसपा अध्यक्ष महन्थ ठाकुरले बुधबार भेट गरेका छन्। भेटमा प्रधानमन्त्री देउवाले ठाकुरलाई सरकारमा आउन प्रस्ताव गरेको ठाकुरनिकट नेता शरत्सिंह भण्डारीले बताए। उनका अनुसार भेटमा ठाकुरले जसपाले उठाउँदै आएका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए।

जसपाले सरकारसँग मधेस आन्दोलनका क्रममा लगाइएको झुटो मुद्दा फिर्ता गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, नागरिकता विधेयक पास गर्ने तथा निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्नुपर्ने माग अघि सारेको छ।

भण्डारीका अनुसार देउवाले विश्वासको मत दिएर सहयोग गरेको चर्चा गर्दै सरकारमै सहयात्राका लागि प्रस्ताव गरेका थिए। ‘हाम्रो चासो हाम्रा माग र मुद्दा हुन्। तिनको सम्बोधन भए हामी सरकारमा जान सक्छौं,’ भण्डारीले भने। प्रधानमन्त्री देउवासँगको भेटपछि सरकारमा जान पार्टी सकारात्मक भएको पनि उनले बताए।

मन्त्रालय बाँडफाँट र पावर सेयरिङबारे भने देउवासँग कुनै कुराकानी नभएको उनले बताए। ‘हामी सरकारमा जान सकारात्मक भएका मात्र हौं। मन्त्रालय बाँडफाँटबारे कुनै कुराकानी भएको छैन,’ उनले भने। स्रोतका अनुसार ठाकुर पक्ष सम्मानजनक हैसियत प्राप्त भए सरकारमा जानेछ। नागरिक दैनिकबाट र रिपोर्टर्स नेपालबाट

 

उता जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले सरकारसँग सात मन्त्रालय मागेको छ। यादव पक्षका नेता मृगेन्द्रसिंह यादवले सात मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने आफूहरूको लाइन भएको स्पष्ट पारे। यद्यपि यसबारे पार्टीको औपचारिक निर्णय नभएको उनले प्रस्ट पारे।

जसपा अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने या नजाने विषयमा अझै टुंगो नलागेको यादव पक्षका नेताहरू बताउँछन्। ‘अध्यक्षज्यू सरकारमा गए हामीले एक उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रालय पाउने सम्भावना धेरै हुन्छ। तर अध्यक्षज्यू सरकारमा जानुभएन भने परराष्ट्र हामीले पाउँदैनौं,’ ती नेताले भने, ‘त्यसैले अध्यक्षज्यू सरकारमा जानुपर्छ भन्ने हाम्रो लाइन हो।’

यादव पक्ष निर्वाचन आयोगको निर्णयपछि सरकारमा जाने भएको छ। आधिकारिकताको फैसला सुनाउन आयोगले पार्टीका कार्यकारिणी समितिका सदस्य र सांसदहरूको ‘हेड काउन्ट’ गर्ने भएको छ। आयोगले ‘हेड काउन्ट’ गर्नुअघि नै सरकारमा गए सरकारमा जान नपाएकाहरू तत्काल ठाकुर पक्षमा जाने सम्भावना भएकाले यादव पक्ष आयोगको निर्णय कुर्नतिर लागेको हो।रिपोर्टर्स नेपालबाट

Facebook Share Twitter mail

सम्बन्धित समाचारहरू

Comments