साउन शुरु भए संगै शक्तिपीठमा दर्शनार्थीको घुइँचो

  • झरना खबर
  • २०७८ श्रावण ३ गते १५:४३ बजे प्रकाशित

बैतडी : नेपाली वर्षको चौथो महिनामा पर्ने साउन महिना शुरुआत भएसँगै सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ । साउनमा देवीदेवता बैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना पनि भन्ने गरिन्छ ।हरियो महिनाका रुपमा चिनिने साउन महिनामा नारीले हरियो मेहन्दी, चुरापोते र सारी लगाएर मनाउने गर्दछन् ।

यस महिनामा भक्तजनहरुले बिहानै उठेर नुहाइधुवाइ गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहिआएको छ । यस महिनाभरी मन्दिरमा राती जाग्रारम बस्ने, भजनकीर्तन गर्ने र बत्ती बाल्ने चलन रहिआएको छ ।शयन गरेका बेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनाका साथै शत्रु नलाग्ने जनविश्वास रहिआएको छ । शक्तिपीठमा पूजाआजका लागि एक हप्ताअघिदेखि नै माछा, मासु, लसुन र प्याज नखाएर शुद्ध रहनुपर्ने परम्परा रहेको छ ।

जिल्लाको सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, सिगास मन्दिर, दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेक केदार, जगन्नाथ मन्दिर, ईश्वरी गङ्गाधाम, सिगास गाउँपालिकामा रहेको सिगास मन्दिर, शिवनाथमा रहेको शिवनाथ मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम, देउलेक केदार, भिटाकेदार मन्दिरमा श्रावणको महिनाभरी दर्शनार्थीले दर्शन गर्ने गर्दछन् । साउन महिना शुरु भएसँगै दोगडाधाममा भक्तजनको घुइँचो लागेको पण्डित गणेशदत्त भट्टले बताए । उनले भने, “साउन महिना शुरु भएयता दैनिक ३०० को हाराहारीमा दर्शनार्थी आउने गरेका छन् ।”

 साउन महिनामा प्राय महिलाहरु हरियो मेहन्दी, चुरापोते र सारी लगाएर सोमबारे बत्र बसेर शिवालयमा पूजाआजा गरेमा अविवाहित नारीले शिव जस्तै पति पाउने र विवाहित नारीको श्रीमान्को आयु बढ्ने जनविश्वास छ ।
त्यस्तै साउनमा खिर पकाएर खाने तथा पराइघर गएका चेलीबेटीलाई मीठा खाद्यान्न परिकार पकाएर दिने गरिन्छ । यससँगै साउनको महिनादेखि चाडपर्व शुरु भएकोसमेत मानिन्छ ।

सम्बन्धित समाचारहरू

Comments