नक्कली बाबुछोरा बनेर नागरिकता बनाउन आएका दुई पक्राउ

  • झरना खबर
  • २०७८ श्रावण १ गते ११:२७ बजे प्रकाशित

सप्तरी : जिल्ला प्रशासन कार्यालय राजविराजमा,प्रशासनलाई झुक्याउँदै  नक्कली बाबुछोरा बनेर नागरिकता लिएका ससुरा र ज्वाइँ पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजविराज नगरपालिका–१५ देउरी भरुवा निवासी देवन यादव र उनका ज्वाइँ शिवनन्दन यादव रहेका छन् ।

वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ दुवैलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताएका छन् । शिवनन्दन भने भारतीय नागरिक रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रजिअ आचार्यले बताएका छन्।

ज्वाइँलाई आफ्नो छोरा भन्दै ससुराले वडा कार्यालयबाट सिफारिस लिएर नागरिकता बनाउन आएका थिए । तर प्रशासकीय अधिकृतको टेबुलमा फाइल आएकै समयमा वडाबाट अपरिचित व्यक्तिले फोन गरेर यी दुवै नक्कली नागरिकता बनाउन आएको जानकारी गराएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले वडाध्यक्ष रामप्रसाद यादवलाई बोलाएर जानकारी माग्दा उनले गरिएको सिफारिसमा आफ्नो हस्ताक्षर नभएको बताए  ‘लगत्तै प्रशासकीय अधिकृत किशोर रामले  प्रहरी बोलाएर दुवै जनालाई पक्राउ गर्न लगाएको प्रजिअ अचार्यको भनाइ छ ।

पक्राउ परेका देवनका ज्वाइँ शिवनन्दनले आफू नेपाली नागरिक भएको दाबी गर्दै आएका छन्। वास्तविकता के हो भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सम्बन्धित समाचारहरू

Comments