अक्सिजन नपाएर अस्पतालमा छट्पटाई रहेका जनतालाई के दियो राजनीतिले ?

  • झरना खबर
  • २०७८ जेष्ठ ६ गते १६:५३ बजे प्रकाशित

 

  •  सुजन पाख्रिन तामाङ

गत वर्ष छिमेकी राष्ट्र चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) दोस्रो तेस्रो मुलुक हुँदै नेपालमा पनि फैलन पुग्यो । पहिलो लहर केही साम्य भए जस्तो हुँदै थियो पुनः कोभिडको नयाँ भेरियन्ट देखा पर्यो । कोरोनाकै कारण देशमा आजसम्म ५ हजार ६ सयबढीले ज्यान गुमाइसकेका छन् भने  झण्डै ५ लाख संक्रमित हुन पुगे । कोरोनाकै कारण मानविय क्षतीसंगै गरिब,मजदुर विपन्न परिवार भोकै सडकका पेटी तथा गल्लीमा रात कटाउन बाध्य भएका दृष्ट्रान्त ताजै छन् । त्यसबेला सरकार कहाँ थियो राजनीतिक दलका नेता,मन्त्री प्रधानमन्त्री कहाँ थिए ? थिए त पजेरोमा साइरन बजाउँदै हिड्ने मन्त्री नेतालाई मजदुरका भोका पेटले गिज्याउँदै थिए । तर वास्ता उनीहरुलाई थिएन ।

थियो त सत्ता शक्ति कसरी आफ्नै पोल्टामा पार्ने कसरत मात्र । बन्दाबन्दीकै कारण हजारौं गरिब मजदुरलाई कसैले दुई छाक खाना खुवाउँदा समेत सरकार र सम्बन्ध निकायलाई त्यसले कहिले पिरोलेन बरु उल्टो सडक र गल्लीहरुमा रहेका मजदुरलाई अर्को कसैले खाना खुवाउँदै गर्दा देशको इज्जत जान्छ भन्दै खाना खुवाउन नदिने निर्देशनमा थियो सरकार । कोरोनाको पहिलो लहरले निम्त्याएको संकट नेपाली जनताले भोगेको दुःख,मानसिक त्रास कहाँ हराइसकेको थियो र ! तर देश चलाउने राजनीतिक दलका नेताहरु सत्ताको लागी भित्री रणनिती बुन्नमै ब्यस्त थिए । यसको ज्वोलन्त उदाहरण पछिल्ला विकसित राजनीतिक घटनाक्रमबाटै प्रष्ट भएको छ । कोभिडको पहिलो लहरले केहि विश्राम लिन खोजेको होकी जस्तो पक्कै थियो ।तर त्यो गलत सावित हुन पुग्यो । त्यसबीचमा देशको राजनीति पनि त्यस्तै उतार चढावमै थियो । सत्ता पक्षकै दुई धारमा देखिएको राजनीतिक प्रतिस्पर्धाले र सत्ता लोलुप्ताका कारण संसद विघटन सम्मको स्थीती देशले भोग्नु पर्यो । त्यस लगतै सत्ता पक्षका नेताहरु प्रष्ट दुई धारामा विभाजीत भए ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्ष र ओली पक्षमा विभाजन भयो । संसद विघटन पश्चात सडक तातिन थाले । लाखौँ जनतालाई सत्ता पक्षदेखी विपक्षसम्मले पालैपलो सडकमा उतार्ने काम गरे । एक अर्कालाई गाली गर्ने र कस्को कार्यक्रममा कति जनता सडकमा छ भनि प्रतिष्पर्ध गर्नमै व्यस्त रहे । उता छिमेकी राष्ट्र भारतमा कोरोनाको दोस्रो लहर सुरु हुँदै थियो यता लाखौँ जनता स्वयंम सरकारकै आव्हानमा सडकमा थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन सर्वोच्चले बदर गर्दै प्रतिनिधिसभा पुर्नस्थापना गरिदियो । तत्कालिन नेकपा ओली पक्ष कानून त गलत सावीत भए तथापी अहिलेसम्म संसद विघटन सहि थियो भन्ने धारणा बेला बेला लगाँउन पछि परेका छैनन् । संविधानमाथी गल पासो लगाएर संविधानको हत्या गर्न खोज्ने प्रधानमन्त्रीको कदमकाविरुद्ध नागरिक समाजले समेत बृहत नागरिक आन्दोलनको उभार खडा गरेकै हो । प्रतिगमनविरुद्ध जनता लडेकै हुन् । तर राजनीतिको खेल यत्तीमै सकिएको थिएन । दोहोरी चलिनै रहयो ।

नेकपाको विवाद झण्डै ३ वर्षदेखि सर्वोच्चमा थियो । ऋषी कट्टेलको नाममा दर्ता भएको नेकपा र एमाले माओवादी एकता पश्चातको ने क पासँग मिलेको भन्दै परेको मुद्धाको सुनुवाई जव नेकपाका दुई पक्षबीच विवाद उत्कर्षमा थियो । सोही समयमा सर्वोच्चको निर्णय कट्टेलको पक्षमा गयो । सर्वोच्चको निर्णयसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्यूतिए । यो बीचमा राजनीतिक घटनाक्रम धेरै अगाडी बढेको थियो । ओली पक्षमा माओवादी केन्द्रका केही नेता र माधव पक्षको सिगों एमाले ओलीको कदमविरुद्ध थियो । राजनीति खिचाातानीकै क्रममा ओली पक्षले माधव पक्षलाई समेट्न चाहेन । एकलौटी आफू पक्षको भेला राख्दै निर्णय गर्दै जाँदा माधव पक्षले समेत देशभर समानान्तर कमिटीलाई तिव्रता दियो ।

एमाले विभाजनको अन्तीम विन्दुमा थियो । जसरी एमाले अन्तीम विन्दुमा थियो सोही अनूपातको कोभिडको दोस्रो लहरले पनि तीव्राता लिर्दै थियो । स्वास्थ्य विज्ञहरुले पटक पटक भेला बैठक सभा सम्मेलन रोक्न आग्रह गर्दा पनि सरकारले टेर पुच्छर लगाएन । भारतमा भयावह स्थीती भैसकेको छ नेपालमा पनि यसको असर पर्ने विज्ञहरुले औल्याउँदा सरकार त्यसलाई मान्न तयार भएन वा प्रधानमन्त्रीले भने जस्तो वेसार पानी र गलगार गरे कोरोना चैट ! हुन्छ भन्ने मनोभावमै अल्झीयो । कोरोनाको कहर भन्दा सरकार सत्ताको दौडमा दौडि रह्यो ।कोरोनाको असर र प्रभाव सुन्ने फुर्सद कहाँ थियो र ? बरु सरकार बिहान निर्णय गर्छ दिउँसो पार्टीको जम्बो भेला गर्छ र उही राजनीतिक दाउँपेचमै केन्द्रित हुन्छ । जनता भुलाउन कहिले राम-सिताको मेला गराउँछ । जम्बो टोली सहित उत्घाटन, पुजापाठ र सिलन्यासमा सरकार प्रमुख व्यस्त हुन्छन् । जनतालाई भन्छन् २५ जना भन्दा बढी भेला हुन पाइदैन ।

कानूनको रक्षक भन्ने,कानूनको लेखोटो गर्नेले , विधि नियम बनाउनेले त्यसको आफै परिपालना गर्दैन भने कसका लागी त्यो कानून,त्यो नियम ? नभन्दै नेपालमा कोरोना भाइरसको दोस्रो लहरले आक्रान्त पार्दै थियो । तर नेपाली राजनीति उही सत्ताको दाउ थापेर बसेको थियो । कोरोनाले दैनिक ८/९ हजार संक्रमित हुदै थिए, दैनिक २ सय भन्दा बढीले ज्यान गुमाएको तथ्यांक स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरिरहेको थियो । त्यो तथ्यांकले सरकारलाई असर गरेकै थिएन । थियो त केवल प्रधानमन्त्री,मन्त्री पद जोगिन्छ,जोगिदैन । म नै सर्वेसर्वा हुँ भन्नेहरुले आज यो ठाउसम्ँम पुराउन मत दिएका जनता अस्पतालमा वेड र अक्सीजन नपाएर छटपटाई रहँदा जनताको कन्तबिजोक हुँदा वालुवाटारको सिसाको क्याभिनबाट समेत हेर्ने चेष्टा गरेनौं । विडम्बना बरु विदेशी संचार माध्यमलाई कोभिड अण्डर कन्टोलको हवला दिन व्यस्त रह्यौं । जनताले अक्सीजन नपाएर छट्पटाएर मर्नु पर्ने बाध्यता कसको कारण सृजित भयो । यसको जिम्मा कसले लिने ?

उता राजनीतिमा वार्ता चलिरहेकै थियो,विडम्बना त्यो वार्ता कोरोना रोकथामका लागी थिएन सत्ताका लागि थियो । जनता अक्सिजन नपाएर छट्पटाउदै गर्दा सरकारलाई सत्ता जोगाउन विश्वासको मत लिनु थियो तर सरकारले सदनबाट विश्वासको मत त पाएन किन पाएन  ?त्यो राजनीतिक दल नेता र सांसदलाई थाहा होला । संसदमा विश्वासको मत नपाएपछि राष्टपति कार्यालयबाट वैकल्पीक सरकारको लागी आव्हान भयो तर सत्ताको नाटक मञ्चन जारी थियो । कोही आफ्ना सांसदहरुलाई रिसोर्टमा राखेर भारतिय दुतावास धाउँदै थिए । कोही बूढानिलकण्ठ ,खुमलटार बैठकमा ,यस्तै यस्तै !!। बेलाबेलामा सुनिदै आएको कुरा देशको चाबी अन्तै छ भन्ने कुरा, रातीराती खुपिया वालुवाटारको रातो कार्पेटमा स्वागत गर्नेदेखि दिनरात लैनचौर(भारतिय दुतावास)को गेट कुर्ने बानीले देश अन्तैबाट चलेको भन्नेमा जनतालाई दुईमत छैन् । बैकल्पीक सरकार बनाउँन कांग्रेस माओवादी केन्द्र असफल भएपछि देशले ठुलो दलको हैसियतमा उनै प्रधानमन्त्री पायो ।

नेता सत्ताले प्रधानमन्त्री पाए, मन्त्री पाए,विभिन्न नियोगमा नियुक्ती पाए तर अस्पतालमा बेड नपाएर, अक्सिजन नपाएर छट्पटाउदै गरेका बिरामीले सरकार खोज्दै थिए । बाच्ने भरोसा खोज्दै थिए, कहाँ थियो सरकार ? सरकार त शितल निवासमा लामवद्ध भएर सपथ खाँदै थियो अनि भन्दै थियो त्यो पदैन! यो पर्दैन ! तेती मात्र होइन खोप ल्याउन कमिसन बिचौलियाले रोक्यो भनेर स्वास्थय मन्त्रीले सार्वजनिक नगरेको कहाँ होर ! पछि संसदमा प्रधानमन्त्रीले गर्वका साथ भने कहाँ भयो भष्टचार ? थाहा छैन कसले भन्यो भन्दै भष्टचारलाई नै समर्थन गरे ! भन्दा भष्टचार हुन दिन्न, गर्दिन भन्दै सपथ पनि नखुवाको कहाँ हो र ? तर स्वास्थ्य सामाग्रीमा भष्टचार,खोपमा कमिसन १ हुनत तिनै कमिसन खोरलाई रातो अविर लगाउँदै वालुवाटारले केही समय अगाडी न्यानो माया नदिएको कहाँ भुल्न सकिएला र  ? भलै राजनीतिक कुन दल पार्टी त्यो चासोको कुरा होइन तर राजनीतिको आडमा जनता पिल्सीरहेको बेला ,जीवन मरणको दोषाधमा रहि रहँदा कमिसन नपाएर खोप नआउँदा सरकारले कुनै कदम चाल्नु पर्दैैन ? यसरी नै निरिह भएर,कमिसन खोरको फेरो समाएर बस्ने की एक्सनमा उत्रने प्रश्न तेती हो । कोभिडले मृत्युवरण गरेका र मृत्युसँग पैठेजोरी गर्देै जीवन बचाउने आशामा अस्पतालका शह्या, पेटीमा अक्सीजन नपाएर छटपटाउनेलाई आखिर के दियो राजनीतिले ? आफै सोचौँ त । अँ !साच्ची देशमा कोभिडले हराएका(मृत्युभएका)हरुको सम्झनामा श्रद्धाञ्जलीले सामाजिक संजाल भरिरहेको बेला धारा उपधाराबाट प्रधानमन्त्री र मन्त्री बनेकोहरुलाई कसरी दिउ बधाई ? भैगो जनता बाँचे भोलि संगै दिउला ।

राजनीतिलाई नेपाली जनताले के दिएन ? ५ वर्ष स्थिर सरकार चलाउँ भनी भोट दिएकै हो । त्यसको बदलामा राजनीतिले के दियो । राजनीतिले चलाएको सरकारको एकपछी अर्को काण्ड छरपष्ट हुँदा सहेर बसेकैै थियौँ ।यस्को बदलामा राजनीतिले के दियो ? कुरा मिलेन भनेर संसद विगठन गर्दा नेताहरुले जेजे गर भनेउ त्यही जनताले गरेकै हुन । अन्दोलन अनी समर्थन फेरि त्यसको बदलामा राजनीतिले के दियो ? साझा प्रश्न सत्तामा पटक पटक पुग्न संविधानकै थुप्रै धारा उपधारा रहेछन तर अहिले जनतालाई अक्सीजन र उपचार दिन कुनै धारा छन् की छैन त? नैतिकता राजनीतिमा छ कि छैन त्यो स्वंयम राजनीतिज्ञलाई भन्दा अरुलाई कहाँ थाहा हुदो रहेछ र ।

हिजो त्यही सरकारलाई राजनीतिक भाषामा –(प्रतिगामी ,असम्बैधानिक) भनेर जनतालाई सडकमा राखेर कसम खाँदै गर्दा,जनताको अगाडी बोल्दा,प्रतिगामीलाई घुडा टेकाउँछौं भन्दै गर्दा जनताले तालि बजाएकै थिए । फेरी आज अर्को धारा र उपधाराबाट त्यही सरकारलाई सत्तामा पु¥याउन आफ्नो स्वार्थ र अभिष्ट पुरा गर्न आज सरकारमा जान तयार हुने तिमीहरुको राजनीतिलाई जनताले कसरी मुल्यांकन गर्ने ? हिजो विधि र पद्धतिका कुरा फलाक्ने आज उनै प्रतिगामी भन्दै सराप्नेलाई जयजयकार गर्दै हिड्ने यो कस्तो राजनीति हो ? आफ्ना अभिष्ट र स्वार्थ पुरा नहुन्जेल मात्र हो यो विधि र पद्धतीका कुरा आउँने ? यी कुरा गर्दै गरौला । तर बिषम पस्थिीतीमा कुनै व्यवसायीको घरमा बसेर राजनीतिक गेम खेल्नु भन्दा जनतालाई परेको समस्याका बारेमा बैठक, भेला गर्दा जनताप्रतिको उत्तरदाहित्व पुरा हुने थियो । राजनीतिज्ञलाई नेपाली जनताले के दिएनन् ? फेरि शिर ठाडो पारेर हिड्ने मौका दिनेछन्,पद प्रतिष्ठाको उचाईमा पुराउने छन् । तर आजको अवस्थामा जनतालाई अक्सिजन देउ, उपचार देउ, अस्पतालमा वेड देउ, जनतालाई जीवनदान देउ, बस फेरि नेपाली जनताले राजनीतिज्ञलाई थुप्रै अवसरहरु दिने छ ।

Facebook Share Twitter mail

सम्बन्धित समाचारहरू

Comments