प्रहरीको हिरासतमा थुनुवाको निधन

  • रासस
  • २०७६ माघ २१ गते १५:४९ बजे प्रकाशित

काठमाडौं  । महानगरीय प्रहरी वृत नयाँबानेश्वरको हिरासतमा  झुण्डिएर आत्महत्या प्रयास गरेका हेम राउतको अस्पतालमा निधन भएको छ । 

बाजुरा घर भएका हेमले आईतबार बिहान साँढे ५ बजेतिर प्रहरी हिरासतको ट्वाईलेटमा झुण्डिएर आत्महत्या प्रयास गरेका थिए । तर, सेन्ट्रि बसेका प्रहरीले थाहा पाएपछि उनलाई अस्पताल लगिएको थियो । 

पहिले सिभिल र त्यसपछि भेनस अस्पतालको आईसियुमा राखेर उपचार गराउँदै गर्दा सोमबार मध्यारात १ बजे उनको निधन भएको हो । ब्लाङकेटको छेउको भागमा कभर गरेको कपडा च्यातेर उनि शौचालयको झ्यालमा झुण्डीएका थिए । 

उनलाई लागु औषध मुद्धामा पक्राउ गरेर थुनामा राखिएको महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीले बताए । लागु औषध नाइट्रोभेट मुद्धामा पक्राउ परेका अर्का एक अभियुक्तको बयानका आधारमा हेमलाई प्रहरीले पक्रेको थियो । 

हिरासतको ट्वाईलेट भित्र आत्महत्या प्रयास गरेको थाहा पाएपछि तत्काल अस्पताल लगिएको तर उनलाई बचाउन नसकिएको डिएसपी रेग्मीले बताए । उनको शव अहिले त्रिवि शिक्षण अस्पताल महराजगञ्जमा पठाईएको छ । 
 

चोरीका पटके

हेम राउत बानेश्वर, कोटेश्वर र शंखमुल क्षेत्रमा चोरीमा संलग्न पटके हुन् । उनलाई प्रहरीले पटक–पटक चोरी मुद्धामा पक्राउ गरेर कारवाही चलाएको थियो । 

पछिल्लो एक बर्षमा उनी तिन पटक अदालतमा धरौटी बुझाएर छुटेका थिए । प्रहरीका अनुसार उनी एक लाख, ४० हजार र ६० हजार धरौटीमा छुटेका थिए । उनि चोरीसँगै लागु औषध कारोबारमा पनि संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

बानेश्वर प्रहरीले केही दिनअघी नाईट्रोभेट सहित पक्रेका एक युवाले हेमसँग नौ हजार रुपैयाँमा किनेको बयान दिएका थिए । सोही बयानका आधारमा प्रहरीले उनलाई पक्रेर थुनामा राखेको थियो । 

सम्बन्धित समाचारहरू

Comments