गोकर्णेश्वरमा जारी राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको समापन, उपाधि इष्टपोल स्कुललाई (फोटो फिचर)

टि एन धमला (मुनामदन) - काठमाण्डौ । ''स्वास्थ्यको लागि खेलकुद र गोकर्णेश्वरका लागि खेलाडी '' भन्ने मूल नाराका साथ गोकर्णेश्वर नगरपालिकामा जारी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन भएको छ । प्रतियोगिताको उपाधि भने इष्टपोल स्कुलले जितेको छ । अहिलेसम्म इष्टपोल स्कुलले लगातार दुई पटक रनिङ शिल्डको उपाधि जित्न सफल भएको छ । यस्तै मनकामना सेकेण्डरी स्कुल द्वितीय भएको छ भने,चामुण्डा माध्यामिक विद्यालय तृतीय भएको छ ।प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यालयहरूलाई क्रमशः रू २५ हजार, १५ हजार र १० हजार नगदसहित सम्मानपत्र, मेडल र शिल्डद्वारा सम्मान गरिएको छ । नगरपालिकाको वडा नं-२ नयाँपाटि स्थित बाल सुधार मा.वि.को प्राङ्गणबाट सुरु भएको प्रतियोगिताको समापन भने नगरपालिकाको वडा नम्बर-१ पाथीभरामा रहेको सुविधायुक्त स्पोर्ट्स सिटि हलमा भएको थियो ।

नगरपालिकाको वडा नम्बर-१ पाथीभरा स्थित स्पोर्ट्स सिटि हलमा भएको प्रतियोगितामा नगरपालिकाका सामुदायिक र निजी गरि ३४ वटा विद्यालयहरू सहभागि बनेका थिए । प्रतियोगिता पौष १५ गते शुरु भई पौष २० गते सम्म संचालन भएको थियो । रनिङ शिल्ड प्रतियोगितामा मार्च पास, उसु, तेक्वान्दो, कराते,एथलेटिक्स, कबड्डी,भलिबल लगायतका विविध खेल खेलाइएको थियो ।

कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख दिपक कुमार रिसालले प्रतियोगितामा सहभागी सबैलाई धन्यवाद दिएका छन् । रिसालले गोकर्णेश्वर नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड मात्र नभई च्याम्पियनसीप खेल समेत ल्याउदै गरेको बताएका छन्। उनले अब खेल क्षेत्रको बिकासका लागि खेलकुद प्रशिक्षक सहित गोकर्णेश्वर स्पोर्टस राखिने समेत जानकारी दिएका छन् ।

नगर प्रमुख रिसालले प्रत्येक विद्यार्थीले कुनै एक खेलमा अनिवार्य सहभागी हुनुपर्ने गरि आउँदो नीति तथा कार्यक्रमबाट व्यवस्था लागु गरिने बताउदै नगरपालिकाका सबै वडामा खेलकुद सम्बन्धी भौतिक संरचना निर्माण भैसकेको हुँदा उक्त योजना लागु गर्न सहज रहेको बताएका छन् ।

प्रतियोगितामा छनौट भएका खेलाडीहरुले अब जिल्ला स्तरीय रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सहभागीता जनाउने भएका छन् ।

सम्बन्धित समाचारहरू

Comments