रित्तोहात फर्किए रास्वपाका नेताहरु ,आजदेखि काठमाडौं केन्द्रीत आन्दोलन
- झरना खबर
- २०८१ कार्तिक ९ गते ०८:४८ बजे प्रकाशित
काठमाडौं - सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई सडक आन्दोलनबाट छुटाउन भन्दै पोखरा पुगेका रास्वपा नेताहरु रित्तोहात फर्किएका छन् । गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन् । पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले हिजोमात्रै थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
सडकबाटै रविलाई छुटाउने भरपुर प्रयास गरेपनि पोखरेली जनताले साथ नदिएपछि रास्वपा काठमाडौं केन्द्रीत बनेको छ । रास्वपाले आज काठमाडौंको माइतीघर मण्डलामा कार्यक्रम गर्ने छ । रास्वपाले आजको विरोध प्रदर्शनमा जम्मा हुन नेता कार्यकर्तालाई आह्वानसमेत गरेको छ ।
सहकारी ठगीको आरोपमा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले गत शुक्रबार काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो । लामिछानेलाई झुट्टा मुद्दामा सरकारले फसाउन खोजेको आरोप लगाउँदै शनिबारदेखि लगातार रास्वपाका नेता तथा कार्यकर्ताहरु विरोधमा उभिएका छन् ।
अन्तिम अपडेट : २०८१ कार्तिक ९ गते ०८:५३ बजे
Comments