गोकर्णेश्वरमा १५ शैय्याको नयाँ अस्पताल भवन उद्घाटन,सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने मेयरको दाबी
- झरना खबर
- २०८१ कार्तिक ३ गते ११:३१ बजे प्रकाशित
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले १५ शैय्याको भवन उद्घाटन गरेको छ । नगरपालिकाले नयाँ आधुनिक भवनबाट आफ्ना नागरिकताको उपचारको थालनी गरेको हो।
नगरप्रमुख दीपककुमार रिसालले अस्पतालको नयाँ भवन शुक्रबार उद्घाटन गरेका छन् । नगर प्रमुख रिसाल र उपप्रमुख सान्नानी लामाले संयुक्त रूपमा उद्घाटन गरेको भवनले सेवा दिन सुरु गरेको छ ।
“यो नयाँ अस्पताल भवनले गोकर्णेश्वरका स्थानीय बासिन्दाको स्वास्थ्य सेवामा महत्त्वपूर्ण सुधार ल्याउनेछ । अस्पतालको स्वास्थ्य सेवा अझै गुणस्तरीय र सुलभ बनाउन हामी प्रतिबद्ध छौँ ” मेयर रिसालले झरना खबरसँगको कुराकानीमा भने ।
गोकर्णमा रहेको गोकर्ण स्वास्थ्य चौकीलाई २०७६ असार १६ गते बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले नगर अस्पतालको रूपमा उद्घाटन गरेका थिए । त्यसै वर्षको नगर परिषद् बैठकले प्राथमिक अस्पताललाई १५ शय्याको नगर अस्पतालको रूपमा परिमार्जन गर्ने निर्णय गरेको थियो ।
नगरपालिकाले केही समय अघि आधुनिक भवन समेत शिलान्यास गरेर निर्माण कार्य गरी रहेको छ। उक्त भवन निर्माण हुनुअघि १५ शय्याको डेन्टल भवन सञ्चालनमा ल्याएको हो ।
देशभर नै उत्कृष्ट स्वास्थ्य सेवा दिएर चर्चामा आएको गोकर्णेश्वर नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रबाट नागरिकको उपचार सुरु गरेको थियो । यो सेवा विस्तारको क्रम चलिरहेको र आफ्नो कार्यकालको अन्तिमसम्म सर्वसुलभ रूपमा नागरिकलाई स्वास्थ्य उपचार गराउने मेयर रिसालले बताएका छन् ।
नगर अस्पतालले नयाँ भवनबाट जनरल सेवा, इएनटी सेवा, इमर्जेन्सी सेवा र प्रसुती सेवा संचालन गर्ने भएको छ । यस्तै उपमेयर सान्नानी लामाले नगरवासीसँग गरेको प्रतिबद्धता अनुसार स्वास्थ्य सेवा विस्तार भईरहेको जानकारी दिएकी छन् । उप प्रमुख लामाले नयाँ भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै नगर अस्पतालमा उपचारका लागि स्थान अभाव तत्कालका लागि टरेको बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले नगरपालिकाले प्रदान गरेका स्वास्थ्य सेवाको लाभ लिन सबैलाई आग्रह गरेका छन् ।गोकर्णेश्वर नगरपालिकाका सबै नगरवासीको बिमा कार्यक्रम सफलतापूर्वक अघि बढेकाले अबको दुई वर्ष भित्रमा सबैलाई निःशुल्क स्वास्थ्य सेवा दिने आफ्नो लक्ष्य रहेको नगर प्रमुख रिसालले बताए ।
नगरपालिकाले २८ करोड लागतमा गोकर्णेश्वरको वडा नम्बर ४ स्थित जगडोलको शहिदपार्क मुकेश कायस्थ हेड इन्जुरी सेन्टरको पनि निर्माण धमाधम गरिरहेको छ । उक्त भवन २०८० फागुनमा सुरु भएको हो भने दुई वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ।
अन्तिम अपडेट : २०८१ कार्तिक ३ गते ११:३५ बजे
Comments