पछिल्लो ४ दशकमा हजारौंको संख्यामा मानिसहरु त्रिशुलीमा खसेर वेपत्ता

  • झरना खबर
  • २०८१ श्रावण ९ गते १०:४५ बजे प्रकाशित

काठमाडौं - चितवन सिमलतालमा पहिरोले बगाउँदा डेढ साताअघि त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई यात्रुवाहक बस र अझै हराइरहेका ४३ जना यात्रुको खोजीकार्यका लागि नेपाली र भारतीय खोजकर्ताहरूले अझै केही दिन संयुक्त रूपमा प्रयास गर्ने अधिकारीहरूले बताएका छन्।

भारतबाट नेपाल सरकारको अनुरोधमा उपकरणसहित आएको राष्ट्रिय आपदा मोचन बल एनडीआरएफ का उद्धारकर्ताहरूले त्रिशूली नदीमा खसेका बस र यात्रुहरूको खोजी गरिरहेका छन ।

गत असार २८ गते नारायणगढ-मुग्लिङ सडकखण्डअन्तर्गत सिमलताल भन्ने ठाउँमा लेदोसहितको पहिरोमा बगेर विपरीत दिशाबाट आइरहेका दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेका थिए। ती बसमा सवार ६२ यात्रुमध्ये २४ जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ। दुर्घटनामा तीन यात्रुको भने ज्यान जोगिएको थियो। बाह्र सदस्यीय भारतीय टोली आइतवारबाट आएर उक्त खोजमा साथ दिइरहेको अधिकारीहरूले जनाएका छन्।

भारतबाट आएको एनडीआरएफको टोलीले खोजीकार्य गरिरहेको छ। खोज कार्यका लागि दैनिक ३६८ सुरक्षाकर्मी समेत अहोरात्र खटिएका छन् । भारतीय टोली समेत लागेर खोज्दा कुनै वस्तु भेटिएको छैन। दुर्घटना भएको ११ दिन भइसक्यो, शवहरू पनि प्राप्त नहुने जस्तो देखिन्छ।  धेरै दिन भइसकेकाले शवहरू गलिसकेको वा नदीमा बगेर भारततिर गइसकेको आशङ्का गरिएको छ ।

खोजकर्ताहरूले शङ्का गरेको ठाउँमा समेत केही भेटिएको छैन :

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले नेपाल र भारतसँग भएका सोनर प्रविधिमा आधारित क्यामराहरूको प्रयोग गरी खोज जारी रहेको बताएका छन् । भारतिय खोजकर्ताहरूसँग भएको सोनर क्यामेराको क्षमता नेपालमो भन्दा केही अत्याधुनिक छ।

खोजकर्ताहरूले सोनार क्यामराले सिमतालबाट चार किलोमिटर तल त्रिशूली नदीमा ूकेही शङ्कास्पद वस्तु भएको ठानेका थिए। उनीहरूले त्यहाँ दुइटामध्ये एउटा बसको भग्नावशेष हुने अनुमान गरेका थिए तर उक्त बस्तु के हो भन्नेमा पुष्टि भइसकेको छैन।

दुर्घटनास्थलबाट नारायणी नदीसम्म करिब २० किलोमिटरको क्षेत्रमा खोजकार्य केन्द्रित गरिएको भएपनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको टोलीले ९० किलोमिटरको क्षेत्रफलसम्म खोज कायम राखेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले घटनास्थलदेखि तलको भूभाग नवलपरासी बर्दघाट सुस्ता पूर्व र बर्दघाट सुस्ता पश्चिम जिल्लामा पर्ने भन्दै त्यहाँ रहेका सुरक्षा निकायहरूसँग समन्वय गरी काम गरिरहेको जनाएको छ ।

उक्त दुर्घटना भएको अवधिमा नदीमा पानीको प्रवाह उच्च रहेको भन्दै अधिकारीहरूले गण्डक नहरबाट समेत शवहरू भारततर्फ बगाउने सम्भावना रहेकाले भारतको बिहार राज्यस्थित पश्चिम चम्परणका जिल्ला मजिस्ट्रेटसँग समन्वय गरी काम गरिरहेको जनाएका छन्।

खोज तथा उद्धारमा वाटर ड्रोन, र्‍याफ्टिङ बोट, डुङ्गा, गोताखोर र सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । खोजी कार्यमा प्रयोग भएको क्यामेराको राडरले शङ्कास्पद वस्तु देखाएपनि भारतीय टोलीले धमिलो बेगमा बगेको पानीमा कम काम गरेकाले कठिनाइ भइरहेको जनाउँदै शङ्कास्पद वस्तु भएको अनुमानसँगै पुनः सोही ठाउँमा खोजतलास थालिएको छ। उता यसअघि भेटिएका भनेका २५ शवमध्ये सनाखत नभएका सातमध्येको एक शव यो घटनाभन्दा बाहिरको रहेको खुलेको छ । तीमध्ये छजनाको सनाखत हुन अझै सकेको छैन ।

सनाखत भएका शवमा १६  पुरुषको छ भने दुईवटा महिलाको छ । त्यस्तै सनाखत भएका शवमध्ये १३ नेपाली नागरिक रहेका छन् भने पाँच  भारतीय नागरिक छन् । त्यस्तै प्राधिकरणले एक विज्ञप्ति जारी गरी विपद्को यस्तो विषम अवस्थामा दक्ष प्राविधिकको टोली पठाइ खोजी कार्यमा सहयोग उपलब्ध गराएकोमा भारत सरकार र खोजी कार्यमा संलग्न उद्धारकर्ताप्रति धन्यवाद दिएको छ ।

त्रिशुली नदिमा अहिलेसम्म कति सवारी र मान्छे वेपत्ता भए ? 

त्रिशुलीको भेल यति कडा छ कि यसले ठूला सवारीलाई पनि बगाएर लैजान्छ । त्रिशुलीको गहिराई पनि त्यस्तै छ कतिपय गाडी र मान्छे वेपत्ता पारेको छ । त्रिशुलीमा कति सवारी खसे कति वेपत्ता भए त कति भेटिए । तर, त्रिशुलीमा खसेका मान्छेहरु भने धेरै वेपत्ता भएको तथ्यांक छ ।

२०७३ सालको असोजमा मुक्तिनाथ दर्शन गरेर फर्किका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे र उनका दुई भाई प्रकाश र मनमोहन घिमिरे त्रिशुलीमा जीप खस्दा वेपत्ता भए । उनीहरु सवार जीप समेत भेटिएन । त्यस्तै त्रिशुलीमा २०४९ मा एउटा बस वेपत्ता भयो त्यसमा सवार ४२ जना यात्रु थिए उनीहरुको अवस्था अझैसम्म अज्ञात रहेको छ । २०७४ मा खसेको एउटा जीपका ४ यात्रुको शव त्रिशुलीमा भेटिएपनि जीप भने भेटिएन । सोही वर्ष अर्को एक ट्रक खसेको थियो उक्त ट्रक अझै वेपत्ता रहेको छ ।

२०७९ मा त्रिशुलीमा खसेको ट्याक्टर र चालक अझै फेला परेका छैनन् । सोही वर्ष खसेको ट्रक भेटिएन तर चालक सकुशल निस्कन सफल भए । यसै वर्षको २८ असारमा दुईवटा यात्रुबस त्रिशुलीमा खस्यो । गोताखोरसहित आधुनिक उपकरणले खोज्दा पनि बस फेला परेको छैन । यात्रुहरुमध्ये केहीको शव फेला परेको छ  भने धेरै बेपत्ता छन् ।

त्रिशुलीको पानीको गति तिव्र हुनाले सवारी साधन बगाउने या टुक्रा भएर छरिने सम्भावना बढी हुन्छ । गहिराई पनि बढी भएकाले सतहमा खोज्न कठिन हुने र समयमै नभेटिदा बगाएर लानसक्छ ।

सवारी साधन त त्रिशुलीमा धेरै वेपत्ता भएका छन् । मोटरसाइकल त धेरै नै वेपत्ता भएका छन् । ४ दशकमा हजारौंको संख्यामा मानिसहरु पनि त्रिशुलीमा खसेर वेपत्ता भएको सरकारी तथ्यांक देखाएको छ । यस्ता घटनाले राजधानीको लाइफलाइन मानिएको राजमार्ग कति कमजोर रहेछ भन्ने बुझाउँछ ।

हामिले यो विवरण यहाँ उल्लेख गर्नुको कारण के हो भने,चालकहरू सर्तक भए र उछिनापाछिनको होडलाई त्यागे भने सम्भावित दुर्घटनाबाट जोगिने सम्भावना धेरै हुन्छ । सिमलतालको यो अहिलेसम्मकै सबैभन्दा ठूलो दुर्घटना चालकको अस्वस्थ प्रतिस्पर्धाका कारण उब्जिएको हो भन्न खोजेका होइनौं तर जोखिमयुक्त बाटोमा चालकहरुले प्रतिस्पर्धालाई रोक्न सके दुर्घटनाबाट जोगिन सकिन्छ भन्ने हो । नेपालसँग पानीभित्रको आकृति देखिने उच्च प्रविधि र विज्ञ टोली नभएको भन्ने बुझाइ ढिलोगरी भएको छ । तत्काल गर्नुपर्ने उद्धारका लागि यस्तो ढिलाइ पनि दुःखद् पक्ष हो । यस घटनामा लास भेटिए पनि खुसी हुनुपर्ने दुःखद् अवस्था आएको छ ।

यस वर्षको मनसुनी वर्षाका कारण भएको क्षति वारे पनि केहि चर्चा गरौं :

मनसुनी वर्षाका कारण आएको बाढीपहिरोलगायत विपद्मा परेर गत जेठ २८ गते यता एक सय ३३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा १४५ जना घाइते भएका छन् भने सिमलताल घटनाबाहेक सात जना बेपत्ता रहेका छन् ।

प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा ६, बागमती प्रदेशमा २५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको बताए ।

उनका अनुसार काठमाडौँ उपत्यकामा ९, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा ९, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा ९, कर्णाली प्रदेशमा ३४ र सुदूरपश्चिम प्रदेशमा १४ गरी एक सय ४५ जना घाइते भएका छन् ।

काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा ४९, गण्डकी प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा पाँच गरी ६७ जनाको उद्धार गरिएको छ । बाढीपहिरामा परी ७ जना बेपत्ता रहेको जनाइएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार १८ परिवार विस्थापित भएका छन् ।

सम्बन्धित समाचारहरू

Comments