बन्द भयो समता शिक्षा निकेतन (स्कुल)

  • झरना खबर
  • २०८१ श्रावण ४ गते ०९:२० बजे प्रकाशित

म्याग्दी- सस्तो शिक्षा दिने भनी खुलेको  ‘समता शिक्षा निकेतन’ले शिक्षकहरुको तलब र जग्गाको भाडा समेत तिर्न नसकेपछि बेनीमा संञ्चालित समता विद्यालय बन्द भएको छ । बेनी नगरपालिका,८ अस्पतालमार्गमा चलेको विद्यालय चालु शैक्षिक सत्रदेखि बन्द भएको हो ।

विद्यालय संञ्चालन गरेको मुल संस्था ‘समता शिक्षा निकेतन’ले लामो समयदेखि शिक्षकहरुको तलब दिएको छैन । ‘समता स्कुल बन्द भएपछि विद्यार्थीहरु अलपत्र परेका छन् । समताले शुलभ मुल्यको राम्रो शिक्षा भने पनि शुल्क भने महंगो नै तिर्नुपर्थ्यो ।’ विद्यालय बन्द मात्र भएको छैन, बाँसका खपेटाको कलात्मक भवन भत्केर भताभुङ्ग बनेको छ ।

बाँसका खपेटा झिकेर वरपरका बालबालिकाहरु विद्यालयमा लुकामारी खेल्ने, फुटवल खेल्ने गर्ने तथा डेस्कबेन्च भाँचेर लथालिङ्ग बनाएका छन् ।

‘केन्द्रलेले तलव नपठाएपछि शिक्षकहरुले पठाउन समेत छाडेका थिए । उनीहरुले विद्यार्थीबाट जति शुल्क उठ्छ, बाँडीचुडी लिएर विद्यालय चलाएका थिए । अति गाहृो भएपछि चालु शैक्षिक सत्रबाट विद्यार्थी विदाई गर्‍यौ, विद्यालय बन्द गरेका छौं’ समता स्कुल बेनीकी प्रिन्सिपल पुजा बगालेले बताइन् ।

विस २०७३ सालमा खुलेको समता विद्यालय बेनीमा कक्षा नर्सरी देखि ५ कक्षा सम्म ४८ जना विद्यार्थी अध्ययनरत थिए । ५ जना शिक्षिकाहरु कार्यरत थिए । कक्षा नर्सरी, एलकेजी र युकेजीमा अध्ययनरत विद्यार्थीबाट मासिक एक हजार र कक्षा १–५ सम्मका विद्यार्थीबाट मासिक १२ सय रुपैयाँ लिने गरेको थियो । 

उता एक सय रुपैयाँमा पढाउने भनेर कर्णालीमा खुलेको समता स्कुल पनि बन्द भइसकेको छ । २०७५ वैशाख १ गते पढाइ सुरु गर्ने गरी कालीकोट सदरमुकाम मान्मामा ‘समता स्कुल’ स्थापना भएको थियो तर आर्थिक व्यवस्थापन कमजोर हुँदै गएपछि स्कुल बन्द भएको छ ।

सम्बन्धित समाचारहरू

Comments