गोकर्णेश्वरमा दिसाजन्य लेदो सहितको फोहोरपानी प्रशोधन हुने केन्द्रको शिलान्यास

  • झरना खबर
  • २०८१ आषाढ २९ गते १४:४४ बजे प्रकाशित

काठमाडौ- गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर २ मा दिसाजन्य लेदो समेत प्रशोधन गर्न मिल्ने गरी निर्माण गर्न लागेको गोकर्ण फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास भएको छ। दैनिक ३० लाख लिटर फोहोरपानी र १० हजार लिटर दिसाजन्य लेदो प्रशोधन गर्न मिल्ने फोहोरपानी प्रशोधन केन्द्रको गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले शिलान्यास गरेका छन् ।

आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौ उपत्यका फोहोरपानी व्यवस्थापन आयोजना अन्तर्गत गोकर्ण फोहोरपानी प्रशोधन केन्द्र निर्माण गर्न लागेको हो ।

उक्त योजना आगामी एक वर्ष भित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको आयोजना कार्यान्वयन निर्देशनालयले जानकारी दिएको छ । यो खालको प्रशोधन केन्द्र नेपालमै पहिलो बन्न लागेको हो ।

योजना सम्पन्न भएमा दिसाजन्य लेदो समेत प्रशोधन गर्न मिल्ने गरी निर्माण हुने नेपालकै पहिलो फोहोरपानी प्रशोधन केन्द्र हुने छ । । निर्देशनालयले यसलाई देशका अन्य स्थानमा समेत बनाउँने गरि योजना अगाडि लगेको छ ।

प्रशोधन केन्द्रको विकासको नेतृत्वकर्ता नै स्थानीय सरकार भएकाले प्रशोधन केन्द्र निर्माण प्रक्रियामा कुनै समस्या नआउने आयोजना कार्यान्वयन निर्देशनालयले बताएको छ ।

प्रशोधन केन्द्र निर्माणमा गोकर्णेश्वर नगरपालिकाले देखाएको चासोका कारण यो अवस्थामा आउन सम्भव भएको गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले बताएका छन् । ‘प्रशोधन केन्द्र निर्माण हुँदैन कि भन्ने अवस्थामा पुगिसकेको थियो, तर गोकर्णेश्वर नगरपालिकाको सहयोगबाटै यो सम्भव भयो’ मेयर रिसालले बताए ।

रिसालले प्रशोधन केन्द्र निर्माणको काम र ढल प्रणाली निर्माणको काम सँगसँगै सम्पन्न हुने बताएका छन् ।  ‘ढलको प्रणाली हाल्ने काम सँगसँगै प्रशोधन केन्द्र पनि सम्पन्न हुनेछ’ । गोकर्ण ढल प्रशोधन केन्द्र सम्पन्न भएपछि पाँच बर्षसम्म निर्माण कम्पनीले नै सञ्चालन गर्ने र त्यसपछि नगरपालिकालाई हस्तान्तरण हुने छ ।

गोकर्णेश्वरमा शिलान्यास गरिएको प्रशोधन केन्द्र विकेन्द्रिकृत फोहोरपानी प्रशोधन केन्द्र हो । गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले हामीले फोहोर बनाएको बागमती हामीले नै सुधार्नुपर्ने बताए ।

रिसालले २५ बर्ष अघिको वागमतीको पानीमा नुहाएको, बागमतीकै पानी पिएको स्मरण गर्दै जनसंख्या वृद्धि र खोलामा ढल मिसाउने कार्यले बागमतीलाई प्रदुषित बनाएको बताए । ‘ढलहरु लगेर बागमतीमा हाल्ने काम जसले गर्‍यो, त्यो राम्रो होइन। हामीले विगतमा जे जत्ति गल्ती गर्‍यौं, अब सुधार्दै लैजानुपर्छ’ उनले भने ।

प्रशोधन केन्द्रको शिलान्यास कार्यक्रममा वडा नं-४ का अध्यक्ष जयराम महतले प्रशोधन केन्द्र निर्माणको शीलशीलामा कुनै पनि समस्या आए त्यसको समाधानको लागि अग्रसरता लिने बताएका छन् । ‘केही परे साइट क्लियर गर्न तयार भएको र स्थानीय सरकारले गर्नुपर्ने कामहरु गर्ने बताए ।

वडा अध्यक्ष महतले सम्झौता अनुसार नै काम हुनुपर्ने र तोकिएकै समयमा काम सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । २ हजार ६६ वर्ग फिटमा फैलिने प्रशोधन केन्द्रको लागत भ्याट बाहेक ३७ करोड, २ लाख ९३ हजार ३०७ रुपैयाँ रहेको छ । प्रशोधन केन्द्रको लम्बाई २४ मिटर र चौडाइ ८ मिटरको हुने छ ।

 

सम्बन्धित समाचारहरू

Comments