यस्ता छन् गोकर्णेश्वर नगरपालिकाको नीति तथा कार्यक्रममा स्वास्थ्यका विषय,नेपाल मेडिकल कलेजसँग अर्को स्वास्थ्य सम्झौता
- झरना खबर
- २०८१ आषाढ १३ गते ०९:४५ बजे प्रकाशित

काठमाडौं- गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालले नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। नगरपालिकाको आफ्नो १३ औं नगर सभामा नगर प्रमुख दिपक रिसालले आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
नगर प्रमुख रिसालले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयहरु परेका छन्। नागरिकबीच समन्वय गर्दै स्वास्थ्य सेवा प्रवाह बढाउनेदेखि आयुर्वेद तथा योगका विषय नीति तथा कार्यक्रममा परेका छन्।
सार्वजनिक गरिएको नीति तथा कार्यक्रमा नगरबासीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखि स्वास्थ्य बिमा,निःशुल्क उपचार, घर दैलोमा स्वास्थ्य सेवा र बिशेषज्ञ सेवा नगरपालिकाको प्राथमिकताको क्षेत्रमा रहेकोले स्वास्थ्य सेवा प्रति नागरिकहरुको विश्वसनियता अभिवृद्धि भएको महशुस भएको भन्दै त्यसलाई निरन्तरता दिने विषय समेत परेको छ ।
नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरेकै समयमा नगर प्रमुख दिपक रिसालले नगर क्षेत्रमा रहेका तीन ठुला अस्पताल नेपाल मेडिकल कलेज,शंखरापुर अस्पताल र नेपाल अर्थोपेर्डिक अस्पतालसँग नागरिकलाई विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँने सम्बन्धमा स्वास्थ्य सम्झौता समेत गरेका छन् ।
नगरपालिकाको वडा नम्बर-१ मुलखर्कमा निमार्ण भएको स्वास्थ्य चौकीमा ल्याब,एम्बुलेन्स सहित आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुने ब्यवस्था गरिने छ ।
स्वास्थ्य सेवा प्रणाली, भौतिक पूर्वाधार, जनशक्ति र स्रोतसाधनको एकीकृत एवम् समन्वयात्मक परिचालन गरी प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गरिनेछ। नगर अस्पताललाई थप पूर्वाधार निर्माण र स्तरोन्नति गरी सुविधासम्पन्न बनाइनेछ र कार्यबोझको आधारमा पुन:संरचना गरिनेछ। निर्माणको चरणमा रहेका वडागत स्वास्थ्य चौकीको निर्माण कार्य शीघ्र सम्पन्न गरिनेछ।
सुरक्षित मातृत्व र रोग नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चानलन गरिनेछ। पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको रोकथामका लागि नि:शुल्क स्क्रिनिङ कार्यक्रम विस्तार गरिनेछ। आँखा जाँचको समेत ब्यवस्था गरिने छ । नगर अस्पतालमा जेरियाट्रिक वार्डको प्रबन्ध मिलाई ज्येष्ठ् नागरिकहरूलाई सहज रूपमा स्वास्थ्यसेवा प्राप्त् गर्नसक्ने व्यवस्था मिलाइनेछ।
नागरिकता वा मतदाता परिचयपत्रको आधारमा नि:शुल्क स्वास्थ्य बिमा कार्य गरिनुका सार्थ फिजियोथेरापी आवश्यक भएका नागरिकलाई मोबाइल थेरापिष्टको ब्यवस्था गरी घर-घरमा फिजियोथेरापी सेवालाई निरन्तरता दिइनेछ ।
नसर्ने रोग रोकथाम गर्न छुट्टै व्यवस्था गरिनेछ। पशुपन्छी, वनस्पति र वातावरणबाट मानव स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असर न्यून गर्न “नगर स्वास्थ्य नीति” मा आधारित कार्ययोजना कार्यान्वयन गरिनेछ।
ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा प्राथमिकता दिनुका साथै सहुलियतको प्रबन्ध गरिनेछ। ज्येष्ठ नागरिकलाई नगरपालिकाको स्वास्थ्य शाखा मार्फत घरमा नै नियमित स्वास्थ्य परीक्षण एवम् औषधी उपलब्ध गराउने व्यवस्था मिलाइनेछ।
अन्तिम अपडेट : २०८१ आषाढ १३ गते १०:३८ बजे
Comments