चालु आवको सात महिनामा ८ खर्ब व्यापारघाटा

  • झरना खबर
  • २०८० फाल्गुण ९ गते १८:५६ बजे प्रकाशित

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती सात महिना अवधिमा मुलुकले कुल ९ खर्ब ८४ अर्ब ७७ करोड रुपैयाँको वैदेशिक व्यापार गर्दा ८ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ बराबरको घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना अवधिको वैदेशिक व्यापारको तथ्यांकअनुसार माघ मसान्तसम्ममा ८ खर्ब ९७ अर्ब ९४ करोड ३९ लाख बराबरको आयात भएको छ भने ८६ अर्ब ८३ करोड नौ लाख १२ हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।

गत आर्थिक वर्षको सुरुवाती सात महिना अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात दुई दशमलव ३१ र निर्यात सात दशमलव ०७ प्रतिशतले घटेको छ । गत वर्षको तुलनामा समग्र व्यापारघाटा दुई दशमलव ७५ प्रतिशतले घट्दा व्यापारघाटा पनि एक दशमलव ७७ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ ।

नेपालले सबैभन्दा ठूलो वैदेशिक व्यापार गर्ने मुलुक भारत हो । भारतसँग पाँच खर्ब ५४ अर्ब ७५ करोड ८८ लाखको आयात गर्दा ५८ अर्ब ७२ करोड २७ लाख रुपैयाँको मात्रै निर्यात भएको छ । अर्थात् चालु आर्थिक वर्षको सात महिनाको अवधिमा भारतसँग मात्र नेपालले चार खर्ब ९६ अर्ब तीन करोड ६० लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको छ ।

त्यस्तै, दोस्रो ठूलो वैदेशिक व्यापार रहेको मुलुक चीनसँग नेपालले एक खर्ब ७१ अर्ब २३ करोड ६३ लाख बराबर व्यापारघाटा व्यहोरेको छ । माघ मसान्तसम्ममा चीनबाट एक खर्ब ७३ अर्ब नौ करोड ११ लाख बराबरको मालवस्तु आयात हुँदा एक अर्ब ८५ करोड ४८ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । 

नेपालले उच्च व्यापारघाटा व्यहोर्ने मुलुकको सूचीमा तेस्रो नम्बरमा संयुक्त अरब इमिरेट्स रहेको छ । चालु आवको सात महिना अवधिमा संयुक्त अरब इमिरेट्ससँग १५ अर्ब ६९ करोड ५४ लाखको आयात र एक अर्ब ५८ करोड ३३ लाख बराबरको निर्यात भएको छ । यो मुलुकसँगको व्यापारघाटा १४ अर्ब ११ करोड २० लाख छ ।

नेपालले वैदेशिक व्यापार गर्ने मुलुकहरुमध्ये सबैभन्दा बढी व्यापार नाफा संयुक्त राज्य अमेरिकासँग रहेको छ । सात महिना अवधिमा अमेरिकाबाट नौ अर्ब १७ करोड ५८ लाख बराबरको वस्तु आयात हुँदा नेपालबाट नौ अर्ब ५४ करोड छ लाख बराबरको निर्यात भएको छ । अर्थात् समीक्षा अवधिमा अमेरिकासँगको नेपालको व्यापार नाफा ३६ करोड ४७ लाख बराबर छ । डेनमार्क, नर्वे, अफगानस्तान, माल्दिभ्सलगायत मुलुकसँग पनि नेपालको व्यापार नाफामा छ ।

चालु आवको सुरुवाती सात महिना अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । यो अवधिमा ७७ अर्ब ४१ करोड ९८ लाख बराबरको डिजेल, ३८ अर्ब ८२ करोड ६३ लाख बराबरको पेट्रोल र ३० अर्ब ३१ करोड २४ लाख बराबरको एलपी ग्याँस आयात भएको छ । त्यस्तै, फलामजन्य सामग्री २२ अर्ब ६६ करोड र १७ अर्ब ३८ करोड ३६ लाख बराबरको स्मार्टफोन आयात भएको भन्सार विभागले जनाएको छ । रासस

सम्बन्धित समाचारहरू

Comments