३६ अस्पतालहरु तयारी अवस्थामा, एम्बुलेन्स चालकदेखि स्वास्थ्यकर्मीसम्मलाई तालिम

काठमाडौ । चीनमा रहेका नेपालीहरु उद्धार गरेर ल्याउँदा क्‍वारेन्टाइनमा कसरी राख्‍ने  र कसरी सेवा दिने भन्‍ने विषयमा एम्बुलेन्स चालकदेखि स्वास्थ्यकर्मीसम्मलाई तालिम दिइएको छ । 

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले करिब ६० जनालाई स्वास्थ्यकर्मी, पारमेर्डिक एम्बुलेन्स चालक लगायतलाई तालिम दिएको मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताए । 

 

“करिब ६० जनामा मेडिकल अफिसर, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, पारामेडिक्स र एम्बुलेन्स चालकलगायतलाई सोमबार अभिमुखीकरण तालिम दिइएको छ,” उनले भने, “क्‍वारेन्टाइनमा कसरी राख्‍ने, स्क्रिनिङ कसरी गर्ने, उद्धार गरेकालाई कुनै समस्या देखिएमा कसरी आइसोलेसनमा राख्‍नेलगायतका विषयमा तालिम दिएको हो ।”

स्वास्थ्यको क्षेत्रबाट करिब तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले जहिले ल्याउने निर्णय गर्छ, तुरुन्तै ल्याइने उनले बताए । उद्धार गरेर ल्याएका विद्यार्थीलाई १४ दिनसम्म क्‍वारेन्टाइनमा राख्नुपर्ने मन्त्रालयले जनाएको छ ।

गत शनिबार माघ १८ गते चीनमा रहेको नेपाली राजदूतावासले चीनबाट फर्किन चाहने नेपालीका लागि फाराम भर्न सूचना जारी गरेको थियो । त्यसमा १ सय ८० जना नेपाली विद्यार्थीहरुले फाराम भरेका थिए । 

गत बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले चार स्थानमा क्‍वारेन्टाइन गर्न सकिने जनाएको थियो । जसमा काठमाडौंको शिवपुरी र इचङ्गुनारायण तथा भक्तपुरको सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा राख्ने निर्णय गरेको थियो । उक्त स्थानमा तालिम प्राप्त चिकित्सक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटाइने जनाएको थियो । हाल कोरोना भाइरसको संक्रमण २७ देशमा फैलिइसकेको छ  ।

३६ वटा अस्पतालहरु तयारी अवस्थामा 

सरकारले केन्द्रीय पाँच अस्पताल र ३६ वटा सेटेलाइट अस्पतालहरुका १४७ वटा आइसोलेसन वेडहरु तयारी अवस्थामा राखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य सहप्रवक्ता सागर दाहालले पहिला १३ वटा सेटललाइट  र पाँचवटा केन्द्रीय (हब) अस्पतालहरु तोकिएको थियो तर त्यतिले मात्र नपुग्‍ने देखिएपछि अन्य १८ वटा अस्पतालमा थपिएको बताए । 

“अहिले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नै ती अस्पतालहरुमा १४७ वटा आइसोलेसन वार्ड छुट्याएर  राखिएको छ,” उनले भने, “भोलि ती सेटेलाइट अस्पतालहरुलाई केन्द्रीय अस्पतालमा छलफलका लागि बोलाएको छ ।”

सरकारले आइसोलेन छुट्याएको केन्द्रीय (हर्ब)अस्पतालहरुमा वीर अस्पताल, विरेन्द सैनिक अस्पताल, पाटन विज्ञान प्रतिष्ठान, त्रिवि शिक्ष्ण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेका छन् ।

सम्बन्धित समाचारहरू

Comments