ओलीको समाचार विश्वकै उत्कृष्ट

  • २०७६ माघ २१ गते १७:४७ बजे प्रकाशित

बुडापेस्ट, हंगेरी — नेपाली खेलकुद पत्रकारिताको इतिहास त्यति धेरै लामो छैन । विधागत पत्रकारिता नै बामे सर्दै गरेको अवस्थामा नेपाली खेल पत्रकारिताले फड्को मारेको स्थिति पनि होइन । तर विश्व खेलकुद पत्रकारितामाझ एउटा नेपाली खेलकुद समाचारले हलचल नै ल्यायो ।

‘मुस्किलले ५० वटा खेल खेलिने नेपालमा २०० भन्दा बढी संघ पालिएका छन्’ भन्ने शीर्षकको समाचारले विश्वको उत्कृष्ट समाचारको अवार्ड जितेको छ।
नेपालका प्रज्ज्‍वल ओलीले लेखेको उक्त समाचारले हंगेरीको बुडापेस्टमा आयोजित विश्व खेलपत्रकारिताको सबैभन्दा ठूलो अवार्ड कार्यक्रम‘एआईपीएस स्पोर्ट्स मिडिया अवार्ड’ जितेको छ।


ओलीले लेखेको उक्त समाचारमा सक्रिय नभए पनि फाइदा लिनका लागि मात्र राष्ट्रिय खेलकुद परिषद (राखेप) मा खेल संघ दर्ता हुने प्रवृत्तिलाई उजागर गरिएको छ। २ सयभन्दा वढी खेल संघ परिषद्‍मा दर्ता गरिएको तर ५० संघले मात्र सकृय रुपमा कामहरु गरिहेको भन्दै समाचारले बाँकी संघको औचित्यमाथि प्रश्न उठाइएको छ।
समाचारमा न्यूनतम सर्तहरु समेत पूरा नगरिएका संघहरु दर्ता हुने गरिएको भन्दै त्यसका लागि खेलकुद परिषद् पनि जिम्मेवार रहेको औंल्याइएको छ। संघ दर्तानिम्ति ठूलो राजनीतिक दबाब हुने गरेको विषय पनि समाचारमा उठाइएको छ।
सोमबार भएको कार्यक्रममा ओलीले‘राइटिङ बेस्ट कोलम’विधामा उक्त अवार्ड जितेका हुन्। सोबापत ८ हजार अमेरिकी डलर पुरस्कार पाए।
विश्वका खेलपत्रकारको छाता संगठन इन्टरनेसनल स्पोर्ट्स प्रेस एसोसिएसन (एआईपीएस) ले हरेक वर्ष उक्त अवार्ड कार्यक्रमको आयोजना गर्ने गर्दछ।
कान्तिपुरको सहप्रकाशन द काठमाण्डू पोस्टका पत्रकार ओलीले तयार पारेको उक्त समाचारले दाबेदारमा रहेका स्पेनका कार्लोस माटालानसको राफेल नडाललाई चिठी र अर्जेन्टिनाका सेवास्टिनको टेनिसको म्याचफिक्सिङसम्बन्धी अनुसन्धानमूलक समाचारलाई पछाडि पार्दै अवार्ड जितेका हुन्। दोस्रो र तेस्रोले ३ र २ हजार डलर थापे।
नेपाली खेलकुद पत्रकारिताले जितेको नै पहिलो र ठूलो अन्तर्राष्टिय अवार्ड हो। अवार्ड थाप्ने क्रममा ओलीले भने,‘यतिखेर म स्तब्ध छु। यो उपलब्धि नेपालजस्तो देशका लागि ठूलो हो। नेपाली खेलकुद र पत्रकारिताका लागि धेरै अर्थ राख्नेछ। यो जितको श्रेय अफिस सहकर्मी, सम्पूर्ण खेलपत्रकार र एनएसजेएफ परिवारलाइ दिन चाहन्छु।’
१ सय २५ राष्ट्रका खेलपत्रकारको समाचारलाई पछाडि पार्दै अन्तिम ३० मा छनोट भएका ओली उत्कृष्ट १० हुदै टप थ्रीभित्र परेका थिए। अघिल्लो वर्ष पनि द काठमाण्डू पोस्टमै छापिएको आदर्श ढकालको समाचार पनि उत्कृष्ट १० भित्र परेको थियो। ओली एआइपीएस अवार्ड जित्ने पहिलो एसियाली पत्रकारसमेत हुन्।

अवार्ड समारोहमा उपस्थित एसियाली खेलकुद पत्रकार महासंघका सदस्यहरुले ओलीलाई बधाई दिँदै यसले एसियाकै गौरव वढाएको बताए। एसियाली खेलकुद पत्रकार महासंघकाउपाध्यक्ष मलेसियाका अहमद खवारी इशाले भने,‘यो सम्पूर्ण एसियाली खेल पत्रकारको लागि गौरवको क्षण हो।’
एआईपीएसका अध्यक्ष जियानी मेर्लोले विजेता ओलीलाई बधाई दिँदै यसले नेपाली खेलपत्रकारिताको स्तर वृद्धि गर्न मदत पुग्ने बताए। उनले यसका लागि नेपाली खेलपत्रकारलाई सहयोग गर्ने विश्वाससमेत दिए।
अवार्ड वितरण समारोहमा उपस्थित एआईपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले ओलीको सफलता नेपाली खेल पत्रकारहरुको लागि प्रेरणा बन्ने बताए। उनले अब अन्तर्राष्ट्र्रिय खेलकुदजगतमा नेपाली खेलपत्रकारिताको सम्भावनाको ढोका खुलेको र युवा पत्रकारहरुले बढीभन्दा बढी अवसर पाउने जानकारी गराए।
एसियाबाट फोटोग्राफी स्पोर्ट्स एक्सन र राइटिङ बेस्ट कलर पिसेसतर्फ एसियाली मुलुकमा पत्रकारले अवार्ड जितेका थिए। फोटोग्राफी स्पोर्ट्स एक्सनमा चीनका झुङ वी (सिन्ह्वा) र मंगोलियाका गानवेट चुलुनबटार दोस्रो र तेस्रो भए भने वेस्ट कलर पिसेसतर्फ इरानकी जारा अली तेस्रो भएकी थिइन्।
झन्डै दर्जनभन्दा बढी विधामा अवार्ड प्रदान गरिएको थियो। फोटोग्राफीतर्फ स्पोर्ट एक्सन र पोर्टफोलियो, राइटिङतर्फ बेस्ट कोलम र बेस्ट कलर पिसेस, अडियो र भिडियो दुवैतर्फ एथलिट प्रोफाइल, डकुमेन्ट्री सर्ट फिचर, योङ रिपोर्टर यू–३० तर्फ फोटोग्राफी, राइटिङ र ब्रोकास्टिङतर्फ उत्कृष्ट तीनलाई पुरस्कृत गरिएको थियो। योङ रिपोर्टरका विजेतालाई एआईपीएसको छात्रवृत्तिस्वरुप अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने एआईपीएसले जनाएको छ।
स्पेनका ९३ वर्षे जोसे मारिया लोरेन्टलाई स्पेसल विधामा रहेको लाइफ इन स्पोर्ट अवार्डबाट सम्मानित गरिएको थियो। लन्डन ओलम्पिकबाट करिअर सुरु गरेका उनले एआईपीएस बुक लेखेका छन्। ह्विलचियरमा बसेर सम्मान थापेका उनले भावुक हुदै भने,‘७० वर्षअघि नै आफ्नो खेल करियर बन्द भए पनि आजको यो सम्मानले मेरो खेल जीवन्तलाई जीवन्त पारेको छ।’
अवार्डका विभिन्न विधामा १ सय २५ देशका पत्रकारले १७ सय ५४ वटा सामग्रीलाई चार चरणमा छनोट गर्दै २७ फाइनलिस्ट तयार पारेको एआईपीएसले जनाएको छ। कडा परिश्रमको फलसँगै उनीहरुका लागि यो नयाँ अध्यायको सुरुआत भएको एआईपीएसको ठहर छ।

अवार्ड हुनु अगाडि फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग एआईपीएसका अध्यक्ष मेर्लोले फुटबलको समसामयिक विषयमा छलफल चलाएका थिए।

मेर्लोले अवार्डको उद्‍घाटन गर्दै भने,‘यो दोस्रो संस्करण अवार्डका लागि प्राप्त गरेका सामग्री संख्याप्रति गर्व छ। यसले खेलको संस्कृतिप्रति विश्वास र अर्थ के हो भनेर बुझाउछ। विजेता छान्नु सजिलो थिएन। सबै विजेता हुनुहुन्छ। धेरै विधाहरु फोटो फिनिसका रुपमा सकिएको छ।’

अवार्ड सकिएसँगै मंगलबारबाट दुई दिने ८३ औं एआईपीएसको विश्व सम्मेलन सुरु भएको छ।

सम्बन्धित समाचारहरू

Comments