चन्दा संकलक पक्राउ

  • रासस
  • २०७६ माघ २१ गते १७:३७ बजे प्रकाशित

नेत्रविक्रम चन्द समूहका नेता तथा सो पार्टीमा आर्थिक संकलन गर्ने मुख्य व्यक्ति मानिएका अर्जुन कटवाल पक्राउ परेका छन् ।

चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायत भूमिगत शीर्ष नेताहरुसँग उनको निरन्तर सम्पर्क रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सिन्धुली स्थायी घर भएका कटवालको बलम्बु (चुनदेवी) मा पनि घर छ। उनी हेभी इक्वीपमेन्ट महासंघका सचिव पनि रहेको खुलेको छ।

प्रहरीले कटवालको चन्द्रागिरी नगरपालिका–१ बलम्बु (चुनदेवी)स्थित घरमा अहिले खानतलासी गरिरहेको छ। उनको कलंकीस्थित कार्यालयबाट विभिन्न व्यक्ति उद्योगी/व्यापारी, सर्वसाधारणलगायतका नाममा काटिएका चन्दा रसिद तथा चेकबुक पनि प्रहरीले बरामद गरेको छ।

चन्द समूहलाई प्रतिबन्ध लगाएपछि कटवाल पार्टी कामकै लागि रसिया र उत्तर कोरियाको भ्रमणमा गएको पनि खुलेको छ। उनी कुन माध्यमबाट रसिया र उत्तर कोरिया पुगे भन्ने पनि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सरकारले २०७५ फागुन २८ गतेबाट चन्द समूहका गतिबिधिमा प्रतिबन्ध लगाएको थियो। त्यसयता १ हजार ३ सय ४३ जना नेताकार्यकर्ता पक्राउ परेकोमा १ हजार १ सय ३४ जना धरौटी र साधारण तारेखमा छुटेका छन्।

सम्बन्धित समाचारहरू

Comments