एमालेभित्रको विवाद मिलाउन राष्ट्रपतिको दौडधुप, वरिष्ठ नेता खनालसँग राष्ट्रपति भण्डारीको डेढ घण्टा छलफल

  • झरना खबर
  • २०७७ चैत्र २२ गते ०९:३५ बजे प्रकाशित

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको विवादमा चासो देखाएकी छन्। एमालेभित्रको अन्तरसंघर्ष उत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारीले वरिष्ठ नेता झलनाथ खनाललाई शनिबार उनकै निवासमा पुगेर भेट गरेकी छन्। शनिबार खनाल निवास डल्लु पुगेर राष्ट्रपति भण्डारीले खनालसँग झण्डै डेढ घण्टा छलफल गरेकी थिइन्।

खनाललाई भेट्नुभन्दा राष्ट्रपति भण्डारीले डल्लुमै इतिहासविद डा महेशराज पन्तलाई भेटेकी थिइन्।

राष्ट्रपति भण्डारी खनालको स्वास्थ्य अवस्था बुझ्ने भनेर उनको निवास पुगेकी हुन्। खनालको स्वास्थ्य भेट्नै जान पर्नेगरी नबिग्रिएकाले राजनीतिक सन्देशको लागि राष्ट्रपति भण्डारी खनाल निवास पुगेको श्रोतको दावी छ।

एमालेभित्रको विवाद मिलाउन राष्ट्रपतिले सक्रियता देखाउनुभएको होला। एमालेका समकालिन नेतामा सबैभन्दा वरिष्ठ नेता खनालनै हो, खनाल निकट एक नेताले भने, राष्ट्रपतिलेसमेत वरिष्ठ नेताले भूमिका खेल्न आग्रह गर्नुभएको छ। जवाफमा खनालले राष्ट्रको अभिवाकले कुनै पनि पार्टीको आन्तरिक मामिलामा चासो राख्न नमिल्ने भन्दै आफूले एमालेको एकतानै चाहेको बताउनुभएको छ।

खनालले २०७५ जेठ २ को अवस्थालाई एकताको प्रस्ताव विन्दु मान्नुपर्ने आफ्नो बटमलाईन रहेको समेत राष्ट्रपतिलाई बताएका थिए। २०७५ जेठ २ को ठाउँबाट अघि बढेमा पार्टी एकताबद्ध हुने र आगामी निर्वाचनमा पहिलो दल बन्न सक्ने समेत खनालले बताएका थिए। जवाफमा राष्ट्रपति भण्डारीले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने बताएकी थिइन्।

आफूले सबै पार्टीभित्रको एकता चाहेको भन्दै राष्ट्रपति भण्डारीले एमालेबाटै आफू राष्ट्रपति भएकाले अझै बढी चासो हुने बताएकी थिइन्। उनले एमाले भित्रको कलहले आफू चिन्तित बनेको समेत बताएकी थिइन्।

कुनै बेला एमाले कार्यकर्ता अनि नेताहुँदै राष्ट्रपति बनेको भए पनि तटस्थ भूमिका खेल्नुपर्नेतर्फ खनालले सचेत गराएका थिए भने आफ्ना ठाउँबाट एमालेको एकताका लागि भूमिका खेल्न समेत भनेका थिए।

आफ्नो घरमा राष्ट्रपति आउनु खुशीको कुरा भए पनि अरु नेताका घरमा यसरी नगएको प्रसंगलाई समेत खनालले उल्लेख गरेका थिए।

स्रोतका अनुसार खनालले आफ्नो स्वास्थ्य भन्दापनि देश र पार्टीको स्वास्थ्य विग्रिएको उल्लेख गरेका थिए।

एकीकृत कम्युनिष्ट पार्टी बचाउन सकिएन। दुई तिहाइ बहुमतको संसद विघटन गरियो। दुई तिहाइको सरकार जोगाउन सकिएन, खनालको भनाई उदृत गर्दै स्रोतले भन्यो, हामी समस्यामा छौ। हाम्रो पार्टी र माओवादी एकतालाई सर्वोच्च अदातलते भंग गरिदियो। अलग भएकोमा एमाले पनि अब एक नहुने हो कि, भन्ने चिन्ता लागिरहेको छ।

सम्बन्धित समाचारहरू

Comments