कर्मचारी संगठनको कार्यक्रममा मञ्चबाटै प्रतिवाद भएपछि उर्जा मन्त्री रायमाझीले मागे माफी

  • झरना खबर
  • २०७७ फाल्गुण २४ गते १७:३२ बजे प्रकाशित

काठमाडौं – कहिले बाबुराम, कहिले प्रचण्डको नजिक हुँदै अहिले ओली क्याम्पमा प्रवेश गरेका उर्जामन्त्री टोपबहादुर रायमाझीलाई हिजो एउटा कार्यक्रममा आफ्नै बोली भारी परेको छ। त्यही अनियन्त्रित जीब्रोले कुरो बटारेकोमा ठाउँको ठाउँ प्रतिवाद भएपछि लगत्तै प्रतिनिधिसभा भङ्ग गर्ने केपी ओलीको कदमलाई गलत ठहर्याउन बाध्य पनि भएका छन् ।

बबरमहलको जिल्ला समन्वय समिति हलमा नेपाल निजामती कर्मचारी संगठन,उपत्यका प्रदेश कार्यसमितिको अन्तरक्रिया कार्यक्रममा ओली समूह र प्रचण्ड– माधव दुवै समूहका कर्मचारीहरुवीच उनले एक पक्षको खेदो खन्दाखन्दै मन्चबाट जुरुक्क उठेर उपाध्यक्ष जीवन भण्डारीले प्रतिवाद गरेका थिए । नेकपा बिभाजनले औपचारिक मान्यता नपाएजस्तै अहिले कर्मचारी संगठन विभाजन भइसकेको छैन ।

कार्यक्रममा माधव नेपाल–प्रचण्ड खेमाका आरसी अधिकारी, रेवन्त गौतम, भवानी खतिवडा, जीवन भण्डारीहरु पनि उपस्थित थिए । झण्डै दुई सय हाराहारीमा कर्मचारी सहभागी रहेको हलमा प्रमुख अतिथि बनाइएका रायमाझीले ओलीनिकट कर्मचारीहरुको मात्र भेला होला भन्ठानेर सम्बोधनको सुरुवातमै लड्डु खाएको प्रसंग निकालेका थिए । त्यतिमा मात्र नरोकिई सडकमा हामी यहाँ छौं भनेर लेखिएको प्लेकार्ड बोकी प्रचण्ड र माधव नेपालहरु धर्ना बसेको सन्दर्भ पनि जोडे । मन्त्री रायमाझी जति जति प्रचण्ड–माधव नेपाल समूहको खिलाफमा बोल्थे हलमा उतिधेरै हुटिङ हुन्थ्यो ।
कर्मचारीको कार्यक्रममा राजनीतिक भाषण र छेडखानी भएको नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीलाई चित्त बुझेन । उनले बीचमै प्रतिवाद गर्दै भने–‘मन्त्रीज्यू के बोल्दै हुनुहुन्छ, यहाँ लड्डु खानेहरु छन्, खुवाउनेहरु पनि छन्, कर्मचारीको कार्यक्रममा कर्मचारीसँग सम्बन्धित बिषयमा मात्र बोल्नोस् । ‘मन्त्री रायमाझीले ‘लड्डु खाने, पेडा खाने, हामी यहाँ छौं भन्ने, आफैले आफूलाई नेता घोषणा गर्ने’ भन्दै आक्रामक भाषण गर्न थालेपछि मैले प्रतिवाद गरेको हुँ’ भण्डारीले भने, ‘त्यसपछि अरु साथीहरुले पनि मन्त्रीज्यूलाई चुप लाग्न” भन्नुभयो ।

मन्चबाटै प्रतिकार हुन थालेपछि मन्त्री रायमाझी रातोपिरो हुनुपरेको थियो । त्यहाँ उत्पन्न परिस्थितिबारे जानकारी दिँदै भण्डारीले भने, ‘हामीले लड्डु खानेहरु पनि यहाँ छौँ, खान नपाएकाहरु पनि छौं यस्ता कुरा गर्ने हो भने राम्रो हुँदैन । मन्त्रीको हैसियतमा बसेर बोल्नुस् भनेपछि मन्त्रीज्यूले माफी माग्नुभयो ।’

अघिसम्म मन्त्रीको भाषणमा ताली बजाएर हुटिङ गरिरहेका ओली पक्षका कर्मचारीहरु त्यसपछि भण्डारीमाथि खनिएका थिए । तर, मन्त्री रायमाझीले भने माफी माग्दै आफ्नो भाषण सच्याउनु परेको थियो । भण्डारीले बीचमै यसरी प्रतिवाद गरेपछि मन्त्री रायमाझी कालोनीलो भए । भाइ भाइ भन्दै उनलाई शान्त बनाउनतिर लागे ।

संगठनका ओली समर्थक युवाचन्द्र घिमिरे, इश्वर ओझा, देवेन्द्र ढकालहरु मन्त्रीको सम्बोधनको प्रतिवाद गर्ने जीवन भण्डारीमाथि आक्रमण गर्ने मुडमा देखिए । भण्डारीले चुनौति दिए “एक एक गरी आउनुस्,सबैसँग भिड्छु ।” स्थिति तनावपूर्ण बन्यो । त्यहाँ सहभागी एक कर्मचारीका अनुसार झण्डै दुई मीनेट जति हंगामा मच्चियो । अन्तमा मन्त्री रायमाझी युटर्न भए । “म माधव नेपाल– प्रचण्डलाई मात्र गाली गरिरहेको छैन ।

ओलीले पनि गल्ती गर्नुभएको हो”,मन्त्री रायमाझीले भने, ‘जीवनजीले भनेको कुरा सही हो । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा बिघटनको कदम गलत थियो, गलतलाई गलत नै भन्नुपर्छ । उहाँले ठीक भन्नुभएको छ । म त ओली समर्थक मात्र हुनुहोला भनेर तपाईंहरुको लागि बोलेको थिएँ ।
तर संगठन फुटेको रहेनछ, नफुट्नुस्, जुट्नुस्,तपाईंहरु सही हुनुहुन्छ । ओलीको कदम गलत छ । हामीले पनि एकता चाहेका छौँ । तर माथिका नेता नमिल्दा समस्या आएको हो’, मन्त्री रायमाझीको भनाइ उद्धृत गर्दै भण्डारीले भने।

मन्त्री भण्डारीलाई ‘ठीक गर्नुभो भाइ’ भन्दै तीन पटक हात मिलाएर बाहिरिएको सहभागी एक कर्मचारीले बताए । ‘अचम्मै भयो नि हिजो त,हाम्रा मन्त्रीहरु यतिसम्म आतंकित हुँदा रहेछन् भन्ने हिजोको कार्यक्रमबाट थाहा भयो’, उनले भने। जनआस्थाबाट साभार

सम्बन्धित समाचारहरू

Comments