देउवाको व्यंग्य- साथीहरु प्रचण्डविरुद्ध बोल्न,नाम लिन सक्दैनन् विचराहरु!

  • झरना खबर
  • २०७७ फाल्गुण ७ गते १८:०२ बजे प्रकाशित

नुवाकोट – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनर्स्थापनाको पक्षमा उभिएका नेताहरुलाई प्रचण्डविरुद्ध बोल्न डराएको भन्दै व्यंग्य गरेका छन् ।

शुक्रबार नुवाकोटमा पार्टी कार्यालय भवनको उद्घाटन कार्यक्रममा देउवाले आफूले कम्युनिस्ट पार्टीको शासन आएपछि रुन पनि पाइने छैन भनेको स्मरण गरे । ‘आज बल्ल साथीहरु ओलीको खिलापमा बोल्न सक्ने भएछन्’ उनले भने, ‘प्रचण्डको खिलापमा बोल्न डराउँछन् अझै यहाँ (मञ्चतिर देखाउँदै) ।’

उनले अघि भने, ‘प्रचण्डको नाम नै लिन सक्दैनन् विचराहरु ’ आफूले भने कांग्रेसलाई प्रचण्ड र ओली सबैको खिलापमा बोल्न सक्ने पार्टी बनाउन चाहेको देउवाले बताए ।

संसद पुनर्स्थापना भएन भने चुनाव हुन्छ हुन्छ

सम्बोधनका क्रममा देउवाले सर्वोच्च अदालतमाथि विश्वास गर्न नेताहरुलाई आग्रह गरेका छन् ।

संसद विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै उनले भने, ‘पुनर्स्थापनाको निर्णय गर्छ भने सहर्ष स्वीकार गरौं । चुनाव भन्छ भन्यो भने चुनावमा जाऊँ ।’

नेकपाको दुबै समूहले चुनावको तयारी गरिसकेको र चुनाव चिह्नका लागि लडिरहेको उनले बताए । ‘हाम्रा नेताहरु चुनाव हुँदै हुँदैन भन्छन्’ उनले भने, हद हुन्छ नि एउटा । भयो भने नि ? त्यसको तयारी गर्नुपर्दैन ? चुनावाबाट भाग्ने ?’

संविधानअनुसार प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्ने र नगराए सबै मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई निकाल्ने समेत देउवाले बताए । उनले अघि भने, ‘संसद पुनर्स्थापना भएन भने चुनाव भयो, भयो ।’

अहिले नभए पनि डेढ वर्षपछि चुनाव हुने भन्दै उनले चुनावबाट नडराउन नेताहरुलाई आग्रह गरे । ‘कि राजनीति छोड्नुपर्‍यो कि चुनावमा जान तयार हुनुपर्‍यो’ उनले भने, ‘चुनावका लागि तयार हुनुस्, डेढ वर्षपछि होस् कि अहिले होस् ।’

नेपालमा सबैले संविधान मिचेको देउवाले बताए । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेको आरोप कांग्रेसकै नेताहरुले लगाइरहेका बेला देउवाले भने नेपालमा संविधान नमिच्ने कोही नभएको बताएका छन् ।

‘यो संविधान मैले पनि मिचेको छु भन्छन्, ओलीले पनि मिचेको छ भन्छन्’ कांग्रेस सभापति देउवाले भने, सबैले मिचेका छन्, नेपालमा (संविधान) नमिच्ने कोही छैनन् ।’

सम्बन्धित समाचारहरू

Comments